वीरगंज । भारतले नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस दिएकाे हाे । काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान गरेको हाे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । समारोहमा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवीको उपस्थिति थियो ।
भारतीय दूतावासले विज्ञप्तिमार्फत नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको जनाएको छ ।