

वीरगन्ज | सरकारले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बाेहरासहित ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् ।
सरुवा सूचीअनुसार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोहरालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। उनको ठाउँमा वीरगन्ज महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा अर्थ मन्त्रलायमा रहेका सहसचिव निर्मल ढकाल पठाइएको छ ।



भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बोहरालाई सरकारले गत जेठ११ सरुवा गरेर वीरगन्ज महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा पठाएकाे थियाे। यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय सरुवा गरेर उनको ठाउँमा सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सहसचिव रविलाल शर्मालाई पठाइएको छ ।


