प्रयागराजमा घरभित्र जमिनमुनि गाडिएका तीन ड्रमबाट करोडौँ रुपैयाँ बरामद, ४ जना प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
Oct 29, 2026, 5:54 pm
३६०
शेयर
भारत | भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लाको नवाबगञ्ज क्षेत्रअन्तर्गत बरईपुर रामनगर गाउँमा एउटा घरभित्र जमिनमुनि गाडेर राखिएका तीनवटा ड्रमबाट करोडौँ रुपैयाँ नगद बरामद भएको छ। प्रारम्भिक गणनाअनुसार ५ करोड भारतीय रुपैयाँभन्दा बढी नगद रहेको बताइएको छ भने गाउँमा उक्त रकम ६० करोड रुपैयाँसम्म हुन सक्ने चर्चा चलेको छ।
प्राप्त सूचनाका आधारमा डीसीपी गंगानगर सोनम कुमार र एडीसीपीसहितको प्रहरी टोलीले बुधबार साँझ छापा मारेको थियो। प्रहरीले सुरुमा गाउँको विद्युत् आपूर्ति बन्द गराई ४० जनाभन्दा बढी प्रहरी परिचालन गरेर घरलाई घेराबन्दी गरेको थियो। त्यसपछि घरभित्र उत्खनन गर्दा जमिनमुनि गाडेर राखिएका तीनवटा ड्रममा ५०० भारतीय रुपैयाँका नोटका गड्डी फेला परेका थिए।
उक्त घर राकेश यादव उर्फ महाकालको रहेको बताइएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ भने घरलाई सिल गरिएको छ। बरामद नगदको यकिन रकम पत्ता लगाउन आयकर विभागको टोलीले नोट गन्ने मेसिन प्रयोग गरेर गणना गरिरहेको छ।
प्रारम्भिक जानकारीअनुसार आरोपी पुणेमा काम गर्दै आएका थिए। सन् २०२० को कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला गाउँ फर्किएपछि उनले अचानक जग्गाजमिन र ट्र्याक्टर खरिद गर्न थालेको बताइएको छ। छिमेकीसँग भएको विवादपछि घरभित्र लुकाएर राखिएको ठूलो रकमबारे रहस्य खुलेको स्थानीय चर्चामा उल्लेख छ।