

भारत | भारतको मेरठमा गत वर्ष भएको व्यापारी नौसेनाका अधिकारी सौरभ राजपूतको हत्याको घटनामा उनकी पत्नी मुस्कान रस्तोगी तथा उनका प्रेमी साहिल शुक्लालाई स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। दुई साताअघि दोषी ठहर गरिएका उनीहरूलाई बुधबार सजाय सुनाइएको हो। सिमेन्टले भरिएको निलो प्लास्टिकको ड्रम यस हत्याकाण्डको प्रमुख प्रमाण बनेको थियो।
जिल्ला न्यायाधीश अरविन्द कुमार मिश्राले १२६ पटकको सुनुवाइ र २२ जना साक्षीको बयानपछि मुस्कान र साहिलले मिलेर सौरभको हत्या गरेको ठहर गरेका हुन्। अभियोजन पक्षका अनुसार उनीहरूले सौरभको शरीर टुक्राटुक्रा पारेर निलो औद्योगिक ड्रमभित्र राखी बालुवा, पानी र सिमेन्टको मिश्रणले छोपेका थिए। न्यायाधीशले यस्ता अपराधले समग्र समाजमा भय सिर्जना गर्ने टिप्पणी गरेका थिए।



अदालतमा मुस्कानका आमाबुवाले सौरभ निकै राम्रो व्यक्ति भएको बताउँदै दोषीहरूलाई मृत्युदण्ड दिइए आफूहरूले विरोध नगर्ने बताएका थिए। मुस्कानका परिवारका सदस्यले उनी जेलमा रहेदेखि भेटघाटसमेत गरेका थिएनन्।
प्रहरीको अनुसन्धानअनुसार सन् २०२५ मार्च ३ मा मुस्कानले मेरठस्थित इन्द्रानगरको घरमा खानामा नशालु पदार्थ मिसाएर आफ्ना पति सौरभलाई बेहोस बनाएकी थिइन्। त्यसपछि त्यहाँ पुगेका साहिलसँग मिलेर उनले सौरभमाथि चक्कु प्रहार गरी हत्या गरेको अभियोजन पक्षको दाबी छ। त्यसपछि उनीहरूले बाथरुममा शवका टुक्रा पारेका थिए।
शव कुहिएर दुर्गन्ध फैलिन नदिन उनीहरूले शरीरका टुक्राहरू ठूलो निलो प्लास्टिकको ड्रममा राखेर बालुवा, पानी र सिमेन्टको ताजा मिश्रणले भरेका थिए। त्यसपछि ड्रमलाई बन्द गरिएको अनुसन्धानबाट खुलेको थियो।
हत्याको भोलिपल्ट मुस्कान र साहिल हिमाचल प्रदेशतर्फ भागेका थिए। मुस्कानले सौरभकै मोबाइल प्रयोग गरेर उनका परिवारका सदस्यलाई सन्देश पठाउँदै उनी जीवित रहेको र व्यापारिक कामका लागि यात्रामा गएको भ्रम सिर्जना गरेकी थिइन्।
सन् २०२५ मार्च १७ मा आफन्तहरूले शंका लागेपछि स्थानीय अधिकारीहरूसँगै घरमा पुगेर जाँच गरेका थिए। सौरभ र मुस्कानकी छ वर्षीया छोरीले छिमेकीहरूलाई ‘पापा ड्रममा हुनुहुन्छ’ भनेको बताइएको थियो। त्यसपछि प्रहरीले सिल गरिएको निलो ड्रम काटेर खोल्दा सौरभको शवका अवशेष फेला पारेको थियो। त्यसको दुई दिनपछि प्रहरीले मुस्कान र साहिललाई पक्राउ गरेको थियो।
अदालतमा अभियोजन पक्षले परिस्थितिजन्य, प्राविधिक र भौतिक प्रमाणहरू पेस गरेको थियो। स्थानीय पसलेहरूले हत्याअघि मुस्कान र साहिललाई निलो ड्रम, सिमेन्टका बोरा, बालुवा, मासु काट्ने धारिलो औजार र ब्लेड बेचेको बयान दिएका थिए।
त्यसैगरी, मोबाइलको कल विवरण र टावर लोकेसनले हत्याको समयमा साहिल घटनास्थलमा रहेको देखाएको अभियोजन पक्षको दाबी थियो। मोबाइल लोकेसन तथा अन्य प्रमाणले उनीहरू सँगै हिमाचल प्रदेशको शिमला र मनालीका होटलहरूमा गएकोसमेत पुष्टि गरेको बताइएको छ। पोस्टमार्टम रिपोर्टले सौरभको मृत्यु चक्कु प्रहारबाट भएको देखाएको थियो।


