

बारा । परवानीपुर गाउँपालिकामा आगामी निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तथा चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ। विभिन्न उम्मेदवारहरूले आफ्ना चुनावी एजेन्डा र योजनाहरू मतदातामाझ प्रस्तुत गरिरहेका छन्।
यसै क्रममा परवानीपुर गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार सोनी कुमारी सोनलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखिएको एजेन्डा सार्वजनिक गरेकी छन्।



सोनलले आफ्नो अभियानको मुख्य नारा “एकताबद्ध परवानीपुर, समृद्धिको लहर” अघि सारेकी छन्। उनका अनुसार गाउँपालिकाको समग्र विकासका लागि सामाजिक एकता, गुणस्तरीय सार्वजनिक सेवा र स्थानीय आर्थिक गतिविधिलाई प्राथमिकता दिन आवश्यक छ।
सोनलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्रमुख चुनावी एजेन्डामध्ये एकका रूपमा प्रस्तुत गरेकी छन्। गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थालाई थप सुविधा सम्पन्न बनाउने तथा विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने उनको एजेन्डा रहेको छ।
उनले आधारभूत स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेकी छन्।
परवानीपुर गाउँपालिकामा कृषिमा निर्भर परिवारको संख्या उल्लेख्य रहेकाले किसानसँग सम्बन्धित विषयलाई पनि आफ्नो एजेन्डामा समेटेको सोनलको भनाइ छ।
किसानलाई आधुनिक कृषि प्रविधि, सिँचाइ, मल तथा बीउको सहज उपलब्धता र कृषि उत्पादनलाई प्रोत्साहन गर्ने योजनामा उनले जोड दिएकी छन्। त्यसैगरी सडक, खानेपानी, विद्युत् लगायतका आधारभूत पूर्वाधारको विकासलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ।
सोनलले आफ्नो चुनावी अभियानमार्फत जनताको सहभागिता र सहकार्यमा गाउँपालिकाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले मतदातालाई आफ्नो एजेन्डा र योजनाबारे जानकारी गराउँदै आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न अपिलसमेत गरिरहेकी छन्।
अब निर्वाचनमा मतदाताले विभिन्न उम्मेदवारका एजेन्डा, प्रतिबद्धता र विगतका कामको मूल्यांकन गर्दै आफ्नो निर्णय गर्नेछन्।


