
वीरगंज । शिक्षा मन्त्रालयबाट आवश्यक इजाजत तथा स्वीकृति नलिई गैरकानुनी रूपमा सञ्चालित शैक्षिक परामर्श केन्द्र (इन्स्टिच्युट) हरूले वैदेशिक अध्ययनमा जान उत्सुक विद्यार्थीहरूलाई ठगी गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा वीरगंजको लिङ्क रोड क्षेत्रमा रहेको एजुकेशन म्याट्रिक्स प्रा. लि. (Education Matrix Pvt. Ltd.) ले वैदेशिक अध्ययन र छात्रवृत्तिको झूटा आश्वासन दिएर विद्यार्थीहरूबाट लाखौँ रुपैयाँ असुल गरिरहेको खुलासा भएको छ।
प्राप्त विवरण अनुसार, उक्त कन्सल्टेन्सीले १००% छात्रवृत्ति मिलाइदिने र आकर्षक विश्वविद्यालयहरूमा भर्ना गराइदिने प्रलोभन देखाई विद्यार्थीहरूबाट अग्रिम रूपमा ठूलो धनराशी असुल गर्दै आएको छ। रकम बुझाइसकेपछि न त भर्ना प्रक्रिया नियमानुसार अगाडि बढाइन्छ, न त विद्यार्थीको भविष्यको कुनै ग्यारेन्टी नै हुन्छ। उल्टै, बिना अनुमति गैरकानुनी रूपमा भर्ना प्रक्रिया अगाडि बढाएर विद्यार्थीहरूको भविष्यमाथि गम्भीर खेलवाड भइरहेको छ।
यस विषयमा सत्यतथ्य बुझ्न तथा संस्थाको आधिकारिक धारणा लिनका लागि सम्बन्धित निकाय एवं कन्सल्टेन्सीका प्रतिनिधिहरूलाई सम्पर्क गर्दा उपलब्ध गराइएका कुनै पनि फोन नम्बरहरूमा सम्पर्क हुन नसकेको हाम्रा संवाददाताले जनाएका छन्।
नेपाल सरकार तथा शिक्षा मन्त्रालयले देशभर दर्ता नभएका र मापदण्ड विपरीत सञ्चालित परामर्श केन्द्रहरूमाथि कडा निगरानी राखे पनि वीरगंजको विभिन्न स्थानहरूमा यस्ता अवैध गतिविधिहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।
ठगी धन्दा चलाइरहेका यस्ता संस्थाका कारण धेरै विद्यार्थीहरूको समय, लगानी र भविष्य जोखिममा परेको भन्दै स्थानीय अभिभावक तथा विद्यार्थीहरू चिन्तित बनेका छन्। यस किसिमको गैरकानुनी कार्य र ठगी धन्दाप्रति नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय पर्सा र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण भई छानबिन तथा कडा कानुनी कारबाही हुनु अति आवश्यक देखिएको छ।