
वीरगंज | , साउन १९ गते । म्याग्दी जिल्लामा भाले बास्ने ताल भएको कुरा कतिपय जिल्लावासीलाई पनि थाहा छैन । यो ताल सुन्दर भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । यहाँको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भन्नुभयो, “यो ताल नामले चर्चित छ तर कतिपय जिल्लावासीले पनि यो ताल देखेका छैनन् नाम मात्रै सुनेका होलान् ।” भाले बास्ने ताल म्याग्दीको मालिका गाउँपालिका–६, दुखुनजिकै प्रकृतिले सिँगारेको अनुपम सम्पदा हो ।
अप्ठ्यारो गोरेटो अनि जङ्गल, स्वच्छ वातावरण, जैविक विविधता, धार्मिक आस्था र मनोरम प्राकृतिक दृश्यले भरिपूर्ण मार्ग हुँदै पुगिने यो ताल आफ्नै मौलिक स्वरूपमा रहेको दरबाङका व्यवसायी सन्तोष सुवेदीको भनाइ छ ।
दुखुका स्थानीय सौगात गुरुङ यो तालसम्म पुग्नका लागि सहज बाटोघाटो नभएको बताउनुहुन्छ । ताल पुग्न बेनी दरबाङ सडकखण्डको तोलाबाङदेखि बायाँतर्फ लागेर दुखु पुगेपछि त्यहाँदेखि ४५ मिनेटको पदयात्रा गर्दै पुग्न सकिने मालिका गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पथबहादुर रोकाको भनाइ छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि सडकमार्ग प्रयोग गरेर तोलाबाङबाट बायाँ लागेर दुखु पुगेपछि पदयात्रा सुरु हुन्छ । अर्को बाटो बेनी दरबाङ सडकखण्ड अन्तर्गतको दुखु खोलाको मुख्य मार्ग पछ्याउँदै उकालो लाग्नु पर्छ । जङ्गलको छहारी तथा खोला किनारको दृश्यावलोकन गर्दै पहाडी पदमार्ग पार गर्दै पदयात्री अघि बढ्न सक्छन् । केही छड्के हिँडेपछि केही सिँढीसहितको कडा उकालो भए पनि त्यसपछि समथर तथा केही ओरालोउकालो मिसिएको बाटोले यात्रालाई रमाइलो बनाइदिन्छ ।
बाटोभरि चराचुरुङ्गीको आवाज, वनस्पतिको सुगन्ध, चिसो हावा र प्रकृतिको सुमधुर वातावरणले यात्राको थकान नै बिर्साइदिन्छ । कालिज, तित्रा तथा अन्य चराचुरुङ्गीको चिरबिर र आवाजले पनि त्यो ठाउँमा पुग्ने जोकसैको मनलाई फुरुङ्ङ बनाएरै छाड्ने गरेको मोतीराज गौतमले बताउनुभयो ।
