पर्सा | जिल्ला प्रशासन कार्यालय पर्साले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन अनुरोध गरेको छ। एक सूचना जारी गर्दै प्रशासनले होली पर्वको अवसरमा जबरजस्ती रंग छ्याप्ने, जथाभावी अविर फाल्ने, हो-हल्ला गर्ने, लोलापन देखाउने तथा अन्य अमर्यादित वा उच्छृंखल गतिविधि कानुन विपरीत हुने बताएको छ।
प्रशासनका अनुसार, सामाजिक तथा सांस्कृतिक मर्यादा विपरीतका कार्य नगर्न/नगराउन अनुरोध गरिएको छ। होली पर्व उल्लासमय तरिकाले मनाउन सकिए पनि कसैको इच्छा विपरीत रंग लगाउने वा अन्य गैरकानुनी क्रियाकलाप गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
साथै, होली पर्वका समयमा दैनिक जनजीवन प्रभावित हुने गरी अत्यधिक आवाजमा डिजे बजाउने कार्य नगर्न आग्रह गरिएको छ। पर्सा प्रशासनले सबै नागरिकलाई नियमअनुसार मर्यादित रूपमा पर्व मनाउन अनुरोध गरेको छ।
अवैध गतिविधिमा संलग्न भए कारबाही हुने
प्रशासनले गैरकानुनी तथा अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने जानकारी गराएको छ। सुरक्षाका दृष्टिकोणले सुरक्षा निकायहरूलाई निगरानी बढाउन निर्देशन दिइएको छ।