काठमाडौं । एआई सर्च इन्जिन पर्प्लेक्सिटी एआईले ‘डिप रिसर्च’ नामक टुल निःशुल्क उपलब्ध गराएको छ । विस्तृत र गहन खोज तथा अनुसन्धान गर्नेहरूका लागि यो टुल उपयुक्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस टुलले दर्जनौं खोज तथा अनुसन्धानका काम क्षणभरमै गर्न सक्छ । साथै सयौं स्रोतबाट जानकारी सङ्कलन गर्न र स्वतः त्यसबाट कारणसहित जवाफ उपलब्ध गराउने कम्पनीको दाबी छ ।
“पर्प्लेक्सिटीको डिप रिसर्च टुल सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउन पाउँदा उत्साहित छौं,” कम्पनीका सीईओ अर्विन्द श्रीनिवासले लिङ्क्डइनमा पोस्ट राख्दै भने ।
श्रीनिवासका अनुसार कुनै एउटा शीर्षकमा विज्ञ स्तरको अनुसन्धान गर्न र दैनिक ५०० ओटा प्रश्न सोध्न मासिक २० डलर तिर्नुपर्ने हुन्छ । यति रकम तिरिसकेपछि प्रयोगकर्ताले तीन मिनेटभन्दा पनि कम समयमा पूरा प्रतिवेदन पाउन सक्ने उनको भनाइ छ ।
श्रीनिवासका अनुसार पर्प्लेक्सिटी डिप रिसर्च एजेन्ट अन्य विकल्पहरूभन्दा धेरै गुणा छिटो छ । यो नयाँ टुलले अधिकांश प्रश्नहरूको जवाफ तीन मिनेटभन्दा कम समयमा दिन्छ र यसको कार्यक्षमता ओपनएआईको ओ थ्री एजेन्टको जत्तिकै रहेको उनको दाबी छ ।
श्रीनिवासले आफूहरूको लक्ष्य कुनै पनि विषयको ज्ञानलाई सबैका लागि सजिलो र उपयोगी बनाउनु भएको बताए ।
यस मोडेलले प्रश्न र उत्तर दिने काम निकै सटीकताका साथ गर्ने कम्पनीको दाबी छ । यस नयाँ टुल गहन अनुसन्धानका लागि तत्कालै जवाफ पाउन प्रयोग गर्न सकिने बताइएको छ । खासगरी यो मोडेल कोडिङ र सर्च गर्ने क्षमताका कारण चर्चित छ ।
यस नयाँ टुलले भने मान्छेले जस्तै पहिले स्रोत सङ्कलन गर्ने, अनि त्यसैका आधार एउटा विशेष शीर्षकमा प्रक्रियागत तरिकाले खोज तथा अनुसन्धान गर्ने कम्पनीले उल्लेख गरेको छ । यसले तयार पारेको रिपोर्ट पीडीएफ फर्म्याटमा डाउनलोड गर्न सकिन्छ भने फाइल शेयर गरेर एडिटको एक्सेस पनि दिन सकिन्छ ।
यो टुल प्रयोग गर्न यहाँ र थप जान्न यहाँ क्लिकगर्नुहोस् ।