वीरगंज | हालै सम्पन्न कार्डियक सोसाइटी अफ नेपालले आयोजना गरेको २२औं अन्तर्राष्ट्रिय कांग्रेसमा डा. मधु गुप्ता विशेष सम्मानित भएकी छन्।
यस कांग्रेसमा कार्डियोभास्कुलर रोगको व्यवस्थापनका विविध पक्षमा चर्चा गरियो। कार्यक्रममा कार्डियोभास्कुलर डिजिजको क्षेत्रका प्रख्यात व्यक्तित्वहरूसँगै डा. गुप्ताको योगदानको उच्च मूल्याङ्कन गरियो।
डा. मधु गुप्ताले नेपाल मेडिकल कलेजबाट एमबीबीएस उपाधि प्राप्त गरेपछि चीनमा चिकित्सामा स्नातकोत्तर अध्ययन सम्पन्न गरिन्।
उनले चितवन मेडिकल कलेजबाट कार्डियोलोजीमा डीएम (डाक्टरेट इन मेडिसिन) उपाधि हासिल गरेकी हुन्। हाल उनी वीरगन्जको नेसनल मेडिकल कलेजमा कार्यरत छिन्। साथै, उनी पति डा. महेश्वर प्रसादसँग वीरगन्जमा निजी क्लिनिक पनि सञ्चालन गर्दै आएकी छन्।
डा. गुप्ताको जन्म पोखरिया नगरपालिकाको सतवारिया गाउँमा भएको हो। हरिनारायण रौनियार र चमेली देवी रौनियारकी जेठी छोरीको रूपमा जन्मिएकी डा. गुप्ता सानो गाउँबाट मेहेनत गरेर ठूलो सफलता हासिल गर्न सफल भएकी छन्। पर्सा जिल्लामा डा. गुप्तालाई एक सफल चिकित्सकका रूपमा उच्च सम्मान र प्रतिष्ठा प्राप्त भएको छ।