वीरगंज | पर्साको बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा बिहीबार सम्पन्न भएको छ। नगरपालिकाको आफ्नै सभाहलमा ‘बहुदरमाईबासीको रहर, स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ नारासहित आयोजित नगरसभामा उपमेयर सुष्मा कुशवाहाले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।
उक्त बजेटमा संघीय सरकारको समानिकरण अनुदानतर्फ १२ करोड २९ लाख, संघीय सरकारको सर्शत अनुदानतर्फ १९ करोड २९ लाख ९ हजार, संघीय सरकारको विशेष अनुदानतर्फ १ करोड ५० लाख, संघीय राजस्व बाँडफाटतर्फ ९ करोड ७१ लाख, प्रदेश सरकारको समानिकरण अनुदानतर्फ ८९ लाख ४ लाख, प्रदेश सरकारको सर्शत अनुदानतर्फ ९५ लाख, प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, प्रदेश सरकारको समपुरक अनुदानतर्फ २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाटमा ३० लाख ४० हजार र आन्तरिक स्रोततर्फ ३ करोड ५४ लाख ६० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।
नगरसभामा सार्वजनिक गरिएको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रबर्द्धन, रोजगारी सिर्जना लगायतका विषयलाई जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए।
मेयर सिंघासन साह तेलीको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगरसभामा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको समेत सहभागीता रहेको थियो।