वीरगंज | पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा टोलमा नेपाल टेलिकमको नेटवर्कमा ५ दिनदेखि समस्या आएको छ। स्थानीयहरूले लामो समयदेखि सञ्चार सेवाबाट बञ्चित रहेको गुनासो गरेका छन्।
बलुवा निवासी नेसार सम्मानीले नेटवर्क नहुँदा दैनिक कामकाज प्रभावित भएको बताए। नेपाल टेलिकमको टावर भए पनि त्यसको रेखदेखका लागि कुनै कर्मचारी नपाइएको हाम्रा सहकर्मी कृष्णमोहन साहले जानकारी दिए।
यस विषयमा नेपाल टेलिकम वीरगन्ज शाखाका प्रमुख नमाकर न्यौपानेले आफूहरूलाई कुनै गुनासो नआएको बताए। उनले समस्या भएको स्थानको लोकेशन जानकारी गराउन आग्रह गर्दै तुरुन्तै समस्या समाधानका लागि मर्मत प्रक्रिया अघि बढाइने आश्वासन दिए।
स्थानीयहरूले छिट्टै समस्या समाधान हुनुपर्ने माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले ५ दिनसम्म नेटवर्क नहुँदा अत्यावश्यक सञ्चार सेवाबाट वञ्चित भएको बताएका छन्। व्यवसाय, विद्यार्थीहरूको अनलाइन कक्षा तथा अन्य डिजिटल कामहरू ठप्प भएको भन्दै उनीहरूले तत्काल समस्या समाधानको माग गरेका छन्।
नेपाल टेलिकमको टावर रहे पनि रेखदेख र नियमित मर्मतकार्यको अभावले यस्तो समस्या आएको हुन सक्ने अनुमान गरिएको छ। यस क्षेत्रमा मोबाइल सेवा अवरुद्ध हुँदा अन्य विकल्पहरू पनि उपलब्ध नभएकाले स्थानीयहरूले टेलिकमलाई यो समस्या प्रति गम्भीर बन्न आग्रह गरेका छन्।
नेपाल टेलिकमका प्रमुखले दिएको आश्वासनअनुसार, मर्मतको काम छिट्टै सुरु हुने अपेक्षा गरिएको छ। स्थानीयहरू भने टेलिकमले यस्ता समस्याहरूलाई भविष्यमा बेलैमा समाधान गर्न तत्पर हुनुपर्ने माग गर्दै छन्।