वीरगंज | वीरगन्जमा बिहीबार विश्व पोलियो दिवसको अवसरमा जनचेतनामूलक र्याली, कोणसभा र मानव साङ्लो प्रदर्शन गरियो। रोटरी क्लब अफ वीरगन्जको आयोजनामा तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको यस कार्यक्रममा पोलियोबारे जनचेतना जगाउन विभिन्न गतिविधिहरू सञ्चालन गरियो।
नारायणी अस्पताल नजिकको रोटरी भवनबाट सुरु भएको र्याली वीर्ता, आदर्शनगर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पोलियो उन्मूलनमा गैरसरकारी संस्थाहरूको भूमिकाको प्रशंसा गर्दै महानगरले पनि सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए।
कोणसभापछि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको रातो बंगला परिसरमा ‘इण्ड पोलियो’ भन्ने सन्देशसहितको मानव साङ्लो प्रदर्शन गरियो। रोटरी क्लबका अध्यक्ष निर्मल खत्रीका अनुसार, नेपालमा पोलियो उन्मूलन भए पनि अझै जोखिम रहेकोले जनचेतना फैलाउन यो कार्यक्रम गरिएको हो।
यस कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंह, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई लगायतको पनि उपस्थिति थियो।
रोटरी क्लब अफ वीरगन्जले आयोजना गरेको यो जनचेतनामूलक कार्यक्रमले पोलियो विरुद्धको लडाइँमा समुदायको सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालबाट पोलियो उन्मूलन भए पनि यस रोगको जोखिमलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक छन् भन्ने सन्देश कार्यक्रममा दिइयो।
यो दिनले पोलियो विरुद्धको लडाइँमा स्थानीय स्तरमा पनि कति जागरूकता र प्रयास भइरहेको छ भन्ने कुरा प्रस्ट पार्यो।