रौतहट । मङ्गलवार राति रौतहटको चपुर–गौर सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित चन्द्रनिगाहपुर–गौर खण्डमा शिवनगरबाट गौरतर्फ जाँदै गरेको बिआर ३२ सि ०५१४ नम्बरको भारतीय मोटरसाइकल र गौरबाट गरुडा जाँदै गरेको प्र.२–०३–०१९प ८९७९ नम्बरको मोटरसाइकल ठोक्किँदा गरुडा नगरपालिका–५, शिवनगरका ४० वर्षीय रामनरेश साह सोनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई प्रारम्भिक उपचारका लागि सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा लगिएको थियो । थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा त्यहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतकका आफन्तले साह मोटरसाइकलको पछाडि बसेका मात्र हुन् र मोटरसाइकल अर्कैले चलाएको दाबी गरेका छन् । तर, मोटरसाइकल चलाउने व्यक्ति दुर्घटनापछि सम्पर्कविहीन रहेको उनीहरूको आरोप छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले घटनाबारे अनुसन्धान भइरहेको बताए । “मोटरसाइकल रामनरेशले चलाएका हुन् वा अरू कसैले, यो छानबिनपछि खुल्नेछ,” डिएसपी रायले जानकारी दिए ।
दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक, राजपुर नगरपालिका–५ निवासी २४ वर्षीय गुफरान हुसेनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
यस घटनामा प्रहरीको सूचना प्रदर्शनप्रति मृतकका आफन्त असन्तुष्ट देखिएका छन् । उनीहरूले सुकदेव प्रहरी चौकीले जिल्ला प्रहरीलाई गलत विवरण दिएको आरोपसमेत लगाएका छन् ।