वीरगंज | पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ का किसान अरुण अधिकारीलाई मधेस प्रदेश सरकारले उत्कृष्ट तरकारी किसानको रूपमा सम्मानित गरेको छ। ४४औँ विश्व खाद्य सुरक्षा दिवसको अवसरमा मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयद्वारा सोमबार आयोजित कार्यक्रममा अधिकारीलाई सम्मान गरिएको हो।
मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले अधिकारीलाई नगद २५ हजार रुपैयाँ पुरस्कार र दोशल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाबाट एक-एक जना किसानलाई पनि सम्मान गरिएको मन्त्री क्षेत्रीले जानकारी गराए।
अधिकारी पर्सा जिल्लामा व्यवसायिक तरकारी खेतीमा सक्रिय रूपमा संलग्न छन्। उनी कृषि क्षेत्रमा निरन्तर योगदान दिँदै आइरहेकाले प्रदेशकै उत्कृष्ट किसानको रूपमा चयन गरिएको हो।