वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमहरूको विरोध गर्न र आवश्यक कामतर्फ ध्यानाकर्षण गराउन माओवादी केन्द्रले काठमाडौको प्रदर्शनीमार्गमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको पेरिसडाँडास्थित कार्यालयमा वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज र अध्यक्षहरूको संयुक्त बैठकमा उक्त जानकारी दिएका हुन्। दाहालका अनुसार, पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकारको विभिन्न कमजोरीहरूको विरोधमा जनप्रदर्शन र खबरदारी सभाको आयोजना गर्ने निर्णय गरेको छ।
अध्यक्ष दाहालले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका छन्। माओवादी केन्द्रले विशेष गरी विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनता लगायतका मुद्दाहरूलाई उठाउने बताएको छ। बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनस्स्थापनामा देखिएका समस्याहरू समाधानका लागि माओवादीले यो कदम चालेको हो।
त्यसैगरी, माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सुरु भएको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेको षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिहरूको विरोध गर्दै सरकारलाई सचेत गराउने उद्देश्यले सभा आयोजना गर्ने जनाएको छ। जनप्रदर्शनका अन्य एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी रहेको छ।