वीरगञ्ज | विवादका कारण नेपाल सद्भावना पार्टीको वीरगञ्जमा गर्ने भनिएको महाधिवेशन जनकपुर सारिएको छ। वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरी पार्टीका कार्यबाहक अध्यक्ष रामकुमार महतोले यसअघि वीरगञ्जमा गर्ने भनिएको महाधिवेशन जनकपुरमा सारिएको जानकारी गराए।
उनले जनकपुरमा पार्टीको महाधिवेशन गर्ने भनि गत असोज २९ गते नै पत्रकार सम्मेलन गरी जानकारी गराइएको बताए। मधेसी नेता स्व. गजेन्द्र नारायण सिंहले स्थापना गरेको सद्भावना पार्टीको महाधिवेशन यसअघि मंसिर १,२ र ३ गते वीरगञ्जमा नै गर्ने भनिए पनि पार्टीको केन्द्रीय कार्यकारणी समितको बैठकले महाधिवेशनको स्थान सार्ने निर्णय गरेको महतोले बताए।
वीरगञ्जमा हुने अधिवेशनको लागि पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजना समिति गठन गरिएकोमा उनले भ्रमपूर्ण तरिकाले मंसिर १, २ र ३ गते वीरगञ्जमा महाधिवेन हुने भनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको महतोले बताए।
कुशवाहा पार्टीको साधारण सदस्यसमेत नरहेको बताउँदै महतोले पूर्व मन्त्री जस्तो व्यक्तिले आफ्नो मर्यादाको ख्याल नै नगरी कानुनी कार्यमा संलग्नता देखाउनु दुःखद् भएको बताए। साथै भ्रमपूर्ण समाचारमा सत्यता नभएको तथा पार्टीको महाधिवेशन जनकपुरमा नै हुने भएकाले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सहभागी हुन अनुरोध गरे।