वीरगंज | पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ बन्कुल चौकमा एक एम्बुलेन्स चालक मादक पदार्थ सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। रंगपुरटाडी प्रहरी चौकीमा खटिएको प्रहरी टोलीले भारतको नम्बर प्लेट BRO 5 PA-0421 भएको एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा चालकलाई मापसे गरेको भेटिएको हो।
प्रहरी सहायक निरीक्षक रामबाबु यादवको नेतृत्वमा रहेको टोलीले जिराभवानी गाउँपालिका-२ निवासी ४० वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएको छ। मापसे परीक्षणको क्रममा चौधरीले प्रहरीसँग अभद्र व्यवहारसमेत गरेको बताइएको छ।
चौधरीलाई एम्बुलेन्ससहित इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथोकीले जानकारी दिनुभएको छ।
एम्बुलेन्स चालक चौधरीलाई पक्राउ गरिएपछि प्रहरीले उनको मापसे परीक्षण गर्दा नतिजा सकारात्मक देखिएको थियो। चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधन चलाएको भन्दै प्रहरीले थप सतर्कता अपनाउन आवश्यक रहेको बताएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु गम्भीर अपराध भएको र यस्तो गतिविधिले सार्वजनिक सुरक्षामा खतरा पुर्याउने भन्दै कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ। हाल चालक चौधरीलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ।