वीरगंज | वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित आदर्शनगरको बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीलाई जुत्ता र खेलकुद सामग्री वितरण गरिएको छ। वडा अध्यक्ष सुशील साह कानुको पहलमा वडा समितिको कार्यालयले सोमबार विद्यालयमा आयोजित कार्यक्रममार्फत यो सामग्री वितरण गरेको हो।
कार्यक्रममा वडाध्यक्ष कानुले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा जुत्ता प्रदान गरे। साथै, विद्यालयका प्रधानाध्यापक राजकुमारी सिंहलाई फुटबल, ब्याडमिन्टन, लूडो, स्किपिङ डोरी, र चेसजस्ता खेलकुद सामग्री हस्तान्तरण गरियो।
वडाध्यक्ष कानुले विद्यालयमा गरिब, विपन्न, र दलित समुदायका बालबालिकाहरू पढ्ने भएकाले उनीहरूलाई खेलकुद गतिविधिमा प्रोत्साहित गर्न सामग्री सहयोग गरिएको बताए। विद्यालय व्यवस्थापन समितिको आग्रहमा वडा कार्यालयले यी सामग्री प्रदान गरेको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश टिबडेवाल, वडा सदस्यहरू सन्तोष जैशी, मिश्रादेवी नगरकोटी, प्रभु महतो, वडा कार्यालयका सचिव पवन प्रधान, र घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु लगायतको उपस्थिति थियो।
यस सहयोगले विद्यालयका बालबालिकाहरूलाई खेलकुद तथा व्यायाममा सक्रिय हुन प्रेरणा दिने विश्वास विद्यालयले व्यक्त गरेको छ।