वीरगंज | पर्साको ठोरी गाउँपालिकाले मधेस प्रदेशका १३६ वटा पालिकामध्ये स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सेवाका गतिविधिहरूको कार्य सम्पदा मूल्यांकनमा ठोरीले यो स्थान प्राप्त गरेको हो।
जनकपुरमा मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य मन्त्री सत्रुधन सिंहले ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापालाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे।
समीक्षामा सर्लाहीको हरिवन नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ भने सप्तरीको हनुमाननगर नगरपालिकाले दोस्रो स्थानमा स्थान जमाएको छ। ठोरी गाउँपालिका भने पर्सा जिल्लामा पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए।
ठोरी गाउँपालिकामा तीनवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र, दुईवटा सामुदायिक स्वास्थ्य इकाई, दुईवटा आयुर्वेद औषधालय, र एकवटा सर्पदंश उपचार केन्द्र रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार, जनतालाई दिइएको सेवा, सेवाग्राहीको सन्तुष्टि लगायतका विभिन्न सूचकहरूको आधारमा ठोरी गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको हो।