वीरगंज | पोखरिया नगरपालिकामा देखिएको बेथिती र अनियमितता रोक्न राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सोमबार मेयर प्रदुमन चौहानलाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्रमा सम्पत्ति कर खारेज गर्ने, नगर कर्मचारीलाई समयमा तलब दिने, र जनप्रतिनिधिहरू तथा कर्मचारीबीचको मिलेमतोमा भइरहेको आर्थिक अनियमितता तुरुन्त बन्द गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य निजामुदिन समानीले जनतालाई अनावश्यक आर्थिक भार थप्न नगरपालिकाले सम्पत्ति कर अत्यधिक वृद्धि गरेको आरोप लगाए। यसले नगरवासीलाई समस्यामा पारेको भन्दै तत्काल कर खारेज गर्न माग गरेका छन्।
त्यसैगरी, अस्पतालहरूमा स्वास्थ्य बीमाका औषधिहरू उपलब्ध नगराउने र नगरपालिकामा कर्मचारी भर्ती केन्द्रजस्तो काम भइरहेको भन्दै उनीहरूले नगरपालिकाको कामकारबाहीप्रति आक्रोश व्यक्त गरेका छन्। ठेकेदारहरूले समयमा भुक्तानी नपाउँदा पनि निर्माण कार्यहरू प्रभावित भइरहेका छन्।
समानीका अनुसार, नगरपालिकाको अनियमितता र भ्रष्टाचारले जनताको विश्वास घटाउँदै गएको छ। यदि नगरपालिकाले छिटो कदम नचाले आन्दोलनको चेतावनी पनि दिएका छन्। उनका अनुसार, जनप्रतिनिधिहरू र कर्मचारीहरूबीचको भ्रष्टाचारको अन्त्य नभए पोखरियावासीलाई थप कठिनाइ हुने सम्भावना छ।
ज्ञापनपत्र बुझाएपछि नगरपालिकाको प्रतिक्रिया नआएकोले, अब पोखरियावासी र सरोकारवाला निकायको ध्यान मेयरको निर्णयतर्फ रहेको छ।