वीरगंज | सिरहाको गोलबजार नगरपालिका-१३ मा २१ वर्षीय कृष्णकुमार महराको हत्या उनको आफ्नै साथीहरूले गरेको पाइएको छ। असोज २७ गते दुर्गा पूजाको मेला हेर्न गएका महरा र उनका साथीहरू बीच लागुऔषध सेवनपछि विवाद भएको थियो।
महराको शव असोज २८ गते सुखिपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा फेला परेको थियो, जसको कम्मरमाथिको भाग बालुवाले छोपिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार महरासँगै रहेका साथीहरूले रिसको झोंकमा हत्या गरेका हुन्।
प्रहरीले हत्या आरोपमा गोलबजार नगरपालिका-१३ का सन्तोषकुमार महरा (२७), रोहितकुमार महरा (२८), धर्मेन्द्र महरा (२१), धिरजकुमार राम (१९), र मोहम्मद जमसेद (२०) लाई पक्राउ गरेको छ। उनीहरूलाई सिरहा जिल्ला अदालतमा पेश गरिई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको राति कृष्ण र उनका साथीहरू मेला हेर्न गएका थिए, जहाँ सबैले गाँजा र नाइट्राभेट ट्याबलेट सेवन गरेका थिए। कृष्णले चिनेकी महिलालाई भेट्ने योजना सुनाएपछि साथीहरू बीच विवाद सुरु भएको थियो। विवादका क्रममा साथीहरूले धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी हत्या गरे।
हत्या पछि, अपराध लुकाउनका लागि उनले कृष्णको शवलाई गागन खोलाको किनारमा खाल्डो खनी बालुवाले ढाकेर भागेका थिए। असोज २८ गते शव फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्या भएको पुष्टि गरेको हो। प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।