वीरगंज | सिमरा विमानस्थलबाट २०२४ जनवरीदेखि अगस्तसम्म ३ हजार १५४ उडानमार्फत १ लाख ६० हजार ३९९ यात्रुले काठमाडौं–सिमरा मार्गमा यात्रा गरेका छन्। विमानस्थलका प्रबन्धक सूर्यबहादुर खत्रीका अनुसार ८१ हजार ९५० यात्रुले काठमाडौं–सिमरा र ७८ हजार ४४९ यात्रुले सिमरा–काठमाडौं मार्गमा यात्रा गरे।
यो विमानस्थलले पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका यात्रुहरूको आवागमनमा सहजता ल्याएको छ भने छिमेकी भारतका यात्रुहरू पनि लाभान्वित भएका छन्। सिमरा विमानस्थल भारतीय सीमावर्ती शहर रक्सौलदेखि २५ किलोमिटर उत्तर र वीरगञ्जदेखि २० किलोमिटर उत्तरमा अवस्थित छ, जसले बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक यात्रा सुविधा प्रदान गर्दै आएको छ।
सिमरा विमानस्थलले आपतकालीन अवस्थामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सिमरा विमानस्थलका सूचना अधिकारी सुरेन्द्र सिंह कुशवाहाका अनुसार, आपत्कालीन अवस्थाहरूमा यस क्षेत्रका सेवाग्राहीहरूलाई यो विमानस्थलले महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ। विशेष गरी बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका समयमा सडक मार्ग अवरुद्ध हुँदा वैकल्पिक हवाई मार्गले यात्रुहरूलाई सुरक्षित र छिटो यात्रा गर्न सहयोग पुगेको छ।
सिमरा विमानस्थलले स्थानीय बासिन्दा र भारतीय यात्रुहरूको लागि यात्रा गर्नको लागि सहज पहुँच र सुविधा उपलब्ध गराउँदै निरन्तर यात्रुको संख्या बढिरहेको देखिएको छ।