वीरगञ्ज। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पर्सा जिल्लाको यादव समुदाय शिक्षामा पछाडि परेको भन्दै उच्च शिक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ मा आयोजित गोपाल सेवा समितिको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले रोजगार, व्यापार, र शिक्षामा यादव समुदायको अवस्था कमजोर रहेको बताए।
अध्यक्ष यादवले मधेसी समाजमा व्याप्त बालविवाह र दाइजो प्रथाजस्ता कुप्रथाहरूलाई अन्त्य गर्न यादव समुदायले अग्रसरता लिनुपर्नेमा जोड दिए। साथै, उनले समुदायका गरिब र जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा सहयोग गर्न आफ्नो प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा शिक्षक हरिराज यादवले गोपाल सेवा समितिलाई यादव समुदायको विकास र उत्थानमा समर्पित संस्था भएको बताउँदै, यो कुनै राजनीतिक दल नभई सामाजिक सेवा गर्ने संस्था भएको प्रस्ट पारे।
समाजसेवी शैलेन्द्र यादवले पर्साको ग्रामीण क्षेत्रमा समितिको सक्रियता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै समुदायको विकासका लागि थप योगदान आवश्यक रहेको बताए।
सञ्चारकर्मी प्रमोद यादवले यादव समुदायको प्रमुख पेशा गाईभैंसी पालन र परम्परागत कृषि रहेको उल्लेख गर्दै, समुदायको ठूलो जनसांख्यिक उपस्थिति भएकाले उनीहरूको उत्थानका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए।
कार्यक्रमको अध्यक्षता गोपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवले गरेका थिए। बैठकमा आगामी मंसिर महिनाको अन्तिम शनिबार सखुवा प्रसौनीमा दोस्रो बैठक बस्ने निर्णय भएको जानकारी पनि दिइयो।