वीरगंज | वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ। छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए।
उनले भने,‘‘घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्दै आइरहेको छ। पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ।’’ तराई –मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन्।
यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कातिक शुक्ल षष्ठीको दिन परेको छ। छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ।
घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए।‘‘छडपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’’ उनले भने।
छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे।