बारा | बाराको महागढीमाई नगरपालिका वडा नम्बर २, बरियारपुरमा अवस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा मंसिरको दोश्रो सातादेखि सुरु हुन लागेको पञ्चवर्षीय मेलामा सहभागी हुन आउने भक्तजन र दर्शनार्थीहरूको सुविधाका लागि संघीय खानेपानी मन्त्री प्रदीप यादवले शुद्ध खानेपानीको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
शनिबार गढीमाई मन्दिरको दर्शन र स्थलगत अवलोकनपछि मन्त्री यादवले मन्त्रालयका कर्मचारीहरुलाई मेला अवधिभर शुद्ध खानेपानी र शौचालयको उचित प्रबन्ध मिलाउन आदेश दिए। उनले विगतमा मेलामा खानेपानी र शौचालयको अभावले सिर्जना भएको समस्यालाई यसपटक पुनरावृत्ति हुन नदिन आवश्यक तयारीको महत्त्वमा जोड दिए।
गढीमाई मेला पशु बलिका लागि विश्वभर चर्चित छ, जहाँ लाखौं श्रद्धालुहरू देश-विदेशबाट सहभागी हुन्छन्। मन्त्री यादवले मेला मूल आयोजक समिति र मन्दिर सञ्चालक समितिका पदाधिकारीहरूसँग पनि मेलाको तयारीबारे जानकारी लिए। उनले मेलामा आउने प्रत्येक श्रद्धालुको सुविधा सुनिश्चित गर्न मन्त्रालयले स्थानीय निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य किसान श्रेष्ठ, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव, पूर्व सांसद प्रमोद गुप्ता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।