महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा करेन्ट लागेर एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना बालिका घाइते भएका छन्। शुक्रबार बिहान गौशाला–३ स्थित पचाइन टोलकी करिनाकुमारी महतोको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
करिनाकुमारीसँगै खेततर्फ जाँदै गरेका छिमेकी विमाकुमारी महतो (१४ वर्ष) र राधाकुमारी महतो (१८ वर्ष) घाइते भएका छन्। घाइतेहरुलाई तत्कालै गौशालामा रहेको एक निजी अस्पतालमा भर्ना गरिएको छ भने मृतक बालिकाको शव मुचुल्का गरी पोष्टमार्टमका लागि बर्दीबास अस्पताल पठाइएको छ।
बालिकाको बुवा विहारी महतोका अनुसार करिना र उनका तीन जना साथीहरु बिहान ७ बजेतिर घाँस काट्न खेततर्फ जाँदै थिए। सोही क्रममा गाउँका एक तरकारी कृषकले खेतको सुरक्षाका लागि राखेको तारजालीमा करिनाको स्पर्श हुँदा उनलाई करेन्ट लागेको थियो। खेतको सुरक्षाका लागि तारजालीमा करेन्ट प्रवाह गरिएको तर यसको जानकारी नहुँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार घटना पछि करेन्ट प्रवाह गर्ने जग्गाधनीको खोजी भइरहेको छ।