वीरगंज | बाराको फेटा गाउँपालिका वडा नम्बर १ नजिकैको त्रिवेणी पुल आसपासमा एक पुरुषको शव फेला परेको छ। बिहान हिँडडुलमा निस्केका स्थानीयहरूले गण्डक नहरको छेउमा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाका अनुसार, जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। हालसम्म शवको पहिचान भने खुल्न सकेको छैन। प्रारम्भिक जानकारी अनुसार शव वीरगञ्ज छपकैया निवासी एक पुरुषको हुन सक्ने अनुमान गरिएको छ, तर यो पुष्टि हुन बाँकी छ।
स्थानीयहरूले शवबाट दुर्गन्ध आइरहेको बताए। शव फेला परेको स्थानलाई अनुसन्धानका लागि सुरक्षित गरिएको छ भने मृत्युको कारण र शवको पहिचानबारे थप विवरणको प्रतीक्षा गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। घटनाको सम्बन्धमा थप जानकारी आउन बाँकी छ।