बारा। बाराको कलैया स्थित प्रादेशिक अस्पतालमा संघ सरकारबाट करोडौं मूल्य पर्ने अत्याधुनिक मेशिनहरू प्राप्त भएका छन्।
यी मेशिनहरू नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री तथा नेपाल सरकारका पूर्वमन्त्री फरमुल्लाह मन्सूरको पहलमा उपलब्ध गराइएका हुन्। मन्सूरले बाराका सर्वसाधारणको प्राथमिक अस्पतालको रूपमा कलैया अस्पताललाई बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक समन्वय र सहकार्यलाई पनि प्राथमिकता दिएका छन्।
मंगलवार, पूर्वमन्त्री मन्सूरले अस्पतालको अनुगमन गर्दै छिटोभन्दा छिटो मेशिनहरू सञ्चालनमा ल्याउन अस्पताल प्रशासनलाई निर्देशन दिए।
उनले अस्पतालका डा. अजय गुप्ताको निरन्तर समन्वय र अस्पतालप्रतिको इमान्दारिताले आफूलाई प्रभावित बनाएको उल्लेख गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग भेटेर आवश्यक सामग्रीहरूको माग गरेको जानकारी गराए।
कलैया प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताका अनुसार संघ सरकारले मन्सूरको पहलमा अस्पताललाई अत्याधुनिक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
प्राप्त मेशिनहरूमा रगत परीक्षणका लागि पूर्ण रूपमा स्वचालित बायोकेमिस्ट्री एनालाइजर, स्वचालित युरिन एनालाइजर, स्वचालित इलेक्ट्रोलाइट एनालाइजर, हेमेटोलोजी एनालाइजर, एबीजी मेसिन लगायतका सामग्रीहरू रहेका छन्। साथै, थाइराइड परीक्षण गर्नका लागि अत्याधुनिक किलिया मेसिन पनि सञ्चालनमा आइसकेको छ।
डा. गुप्ताले मन्सूरको पहलले अस्पतालको स्वास्थ्य सेवा स्तरवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आभार व्यक्त गरेका छन्।