रौतहट | रौतहटको परोहा नगरपालिका–२ मा १९ वर्षीय अभिषेक कुमार यादवलाई किराना पसलमा चोरी गरेको आरोपमा नक्कली नेपाली नोटसहित पक्राउ गरिएको छ। सोमबार राति साढे दुई बजे परोहा नगरपालिका वडा नम्बर ४ स्थित हवारी चोकमा रहेको इशराइल मियाँको किराना पसलमा चोरी भएको थियो।
अस्थायी प्रहरी पोष्ट लौकाहाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा यादवलाई पक्राउ गरेको हो। रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, यादवको साथबाट एक हजार दरको दुई थान नक्कली नोट बरामद गरिएको छ। यादवले सोधपुछका क्रममा उक्त नक्कली नोट पसलबाटै चोरी गरेको बताएका छन्।
घटनामा संलग्न अन्य दुई व्यक्तिहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको डीएसपी रायले जानकारी दिए। चोरी तथा नक्कली नोटको विषयमा थप अनुसन्धान भइरहेको र यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी मुद्दामा कानूनी कारबाहीको दायरामा ल्याइने बताइएको छ।