वीरगञ्ज | वीरगञ्ज–रक्सौल नाकामा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ गोली चलाएको खबर प्राप्त भएको छ। प्रत्यक्षदर्शीका अनुसार, नेपाल–भारत सिमाको मितेरी पुलको तलको नेपाली भूभागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको थियो।
कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमिमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताइन्। गोली कसैलाई नलागेको र गोली चलाएपछि एसएसबीका जवानहरू नेपालतर्फ भागेको पनि उनले जानकारी दिइन्। एसएसबीले गोली किन चलायो भन्ने कारण हालसम्म खुल्न सकेको छैन।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मितेरी पुल क्षेत्रमा गोली चलेको खबर आफूले सुनेको तर आधिकारिक पुष्टि हुन बाँकी रहेको बताए। भुसालले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरूलाई पठाएको र थप विवरणको प्रतीक्षा गरिरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल र प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलाई सम्पर्क गर्दा उनीहरूले फोन नउठाएका कारण घटनाको विस्तृत विवरण अझै उपलब्ध छैन। थप विवरणको प्रतिक्षा गर्नुपर्ने र घटनाको छानबिन जारी रहेको जनाइएको छ।