वीरगंज | रौतहट जिल्लामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले नक्कली नेपाली नोट र लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार चोरीको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग नक्कली नोट फेला परेको छ भने अर्का व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरिएको छ।
पहिलो घटनामा, परोहा नगरपालिका वडा नं. २ जिङगडवा टोलका १९ वर्षीय अभिषेक कुमार यादवलाई चोरीको आरोपमा पक्राउ गरिएको हो। आइतबार राति परोहा–४ स्थित हवारी चोकमा रहेको इशराइल मियाँको किराना पसलमा चोरी भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अस्थायी प्रहरी पोष्ट लौकाहाबाट खटिएको टोलीले उनलाई पक्राउ गर्दा साथमा एक हजार दरका दुई थान नक्कली नोट फेला पारेको छ। चोरीमा संलग्न अन्य दुई व्यक्ति भने फरार छन्, र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दोस्रो घटनामा, चन्द्रपुर नगरपालिका वडा नं. ४ का २६ वर्षीय मनोज राईलाई लागुऔषधसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्क, गौरबाट खटिएको टोलीले चेकजाँचका क्रममा मनोजको साथबाट ३० एम्पुल डाईजेपाम, ३० एम्पुल प्रोमेथाजाइन, र ३० एम्पुल बुप्रोनाईफाइन बरामद गरेको छ, जसको कुल संख्यामा ९० एम्पुल लागुऔषध रहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ। नक्कली नोट र लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने बताइएको छ।