वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जस्थित सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको छ ।
आइतबार बिहान करिब ९ बजेतिर वीरगञ्ज महानगरपालिका अन्तर्गत रानीघाटस्थित पुलबाट हाम फालेकी किशोरीको पहिचान बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २, खुटुवा निवासी १७ वर्षीय रमिता कुमारी दासको रूपमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रमिता कुमारीले नदीमा हाम फालेपछि उनी बाढीको तेज बहावमा बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले खोजी कार्यमा कठिनाइ थपेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर खोजी कार्य जारी राखे पनि हालसम्म रमिता कुमारीको कुनै सुराक फेला परेको छैन ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीका अनुसार, खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दासँगको सहकार्यमा प्रहरीको प्रयास जारी छ । अविरल वर्षाको कारण बाढीको बहाव उच्च भएको हुँदा खोजी कार्यमा चुनौती उत्पन्न भएको छ ।
यसैबिच, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल पनि घटनास्थलमा पुगेका छन् । उनले खोजी कार्यको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । खोजी कार्यका लागि थप सुरक्षाकर्मी परिचालित गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रमिताको परिवार अहिले गहिरो मानसिक तनावमा रहेको र छिटोभन्दा छिटो उद्धारका लागि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगको अपेक्षा गरिरहेको छ । प्रहरीको भनाइ अनुसार, घटनाको सबै पक्षको अध्ययन गरिने र आवश्यक अनुसन्धान अघि बढाइने छ ।