वीरगंज | सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्साबाट खटिएको टोलीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित प्रतिमा चोकबाट काठमाण्डौतर्फ लैजाँदै गरेको रु. ११ लाख ५८ हजार ७ सय ७० बराबरको भन्सार छलिका खजुर, कपडा तथा विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ।
सार्वजनिक सवारी साधनमा लुकाइ छिपाइ काठमाडौं पठाउन लागिएको ती सामानहरू आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।
त्यस्तै, सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको अर्को टोलीले पनि रु. १ लाख ३० हजार बराबरको भन्सार छली सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै, सोही गुल्मको अर्को टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेन गेट नजिक बेवारिसे अवस्थामा पार्किङ गरिएका एमपी ०४ सीके ७४४१ नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिएको छ।
उक्त सवारीसाधनको भन्सार मूल्याङ्कन रु. ४० लाख गरिएको छ। कारलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, सशस्त्र प्रहरीको चेक प्वाइन्ट ड्युटी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेन गेटबाट नेपालतर्फ आउँदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा झोलामा लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रु. ८ लाख नगद फेला परेको छ।
मोटरसाइकलसहित त्यसमा सवार वीरगञ्ज महानगरपालिका वडा नं. २ का ५० वर्षीय पुरुष र ४५ वर्षीया महिलालाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो।