मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह पहिलो पटक अभिभावक बनेका छन्। दीपिकाले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। मुम्बईको एचएन रिलायन्स अस्पतालमा उनले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
शनिबार दिउँसो प्रसूति पीडाका कारण दीपिकालाई मुम्बईको गुरगाउँस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा सफलतापूर्वक प्रसूति भएपछि दीपिका र रणवीरले छोरीलाई स्वागत गरेका छन्।
फेब्रुअरीमा दीपिका र रणवीरले आफूहरू छिट्टै बाबुआमा बन्ने खबर सार्वजनिक गरेका थिए। उनीहरूले सन्तानको आगमनको महिनालाई ‘सेप्टेम्बर २०२४’ भनेर उल्लेख गरेका थिए। शुक्रबार मात्रै दीपिका सिद्धिविनायक मन्दिरमा बाप्पाको दर्शन गर्न पुगेकी थिइन्।
दीपिका र रणवीर सन् २०१३ मा फिल्म ‘गोलियोंकी रसलीलाः रामलीला’ को सेटबाट नजिक भएका थिए। पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए। अब उनीहरू छोरीको आगमनसँगै आफ्नो जीवनको नयाँ अध्यायमा प्रवेश गरेका छन्।