वीरगञ्ज । आज साउने सङ्क्रान्ति पर्व देशभरि स्नान, दान र विभिन्न धार्मिक कर्म गरेर मनाइँदैछ। सौरमास अनुसार साउन १ गते सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ।
साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ। उत्तरायण माघ १ गते सुरु हुने र दक्षिणायन साउन १ गते सुरु हुने दिनलाई विशेष रुपमा मनाउने परम्परा नेपाली समाजमा छ।
अधिकांश नेपाली असार महिनामा खेतीपातीमा व्यस्त रहने र हिलोमैलोले लाग्ने छालासम्बन्धी रोगको उपचारका लागि साउन १ गते लुतो फाल्ने चलन छ। एक महिनाभरि काम गर्ने किसानहरू साउन १ गते आफन्तसँग जम्मा भई रमाइलो गर्ने गर्छन्।
परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याक्ने चलन पनि छ। लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा विद्यमान छ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ। महिलाहरू साउन महिनामा हरियो चुरा लगायतका कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन पनि रहेको छ।
यसरी विभिन्न धार्मिक, सांस्कृतिक र परम्परागत गतिविधिहरू गर्दै नेपाली समाजमा साउने सङ्क्रान्ति पर्व उल्लासमय वातावरणमा मनाइँदैछ।