वीरगन्ज | भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज मंगलबार कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।यी दुई बिचकाे खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् ।
हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख डलर तथा कोलकाताले बलर स्टार्कका लागि २९ लाख ८० हजार डलर खर्चेको थियो । पहिलो क्वालिफायरमा पराजित टोलीले एक अर्को मौका पाउनेछ । भोलि बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लाेर खेल्ने छन् ।
आजको पहिलो क्वालिफायरमा विजयी हुने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो सिजनको आईपीएलको फाइनल खेल आइतबार चेन्नईमा हुनेछ ।