वीरगञ्ज । बाँकेको नेपालगञ्जबाट अनलाइन सट्टे बाज खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका – १ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरी सट्टे वाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका – १४ का ३१ वर्षीय सुरेन्द्र चौधरी, बर्दियाको गुलरिया नगरपालिका – ६ का ३८ वर्षीय बिराज पौडेल, २० वर्षीय सास्वन पाठक, बाँकेको खजुरा गाउँपालिका – १ का ३८ वर्षीय ईश्वर राणा, ३७ वर्षीय टोपबहादुर थापा, मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का २५ वर्षीय ईसाक लिम्बु, १९ वर्षीय सुदेश राई, २२ वर्षका रोशन दनुवार र खोटाङको ऐसेलुखर्क गाउँपालिका – ६ का २७ वर्षीय प्रवीण राई रहेका छन् ।
यस्तै इलामको इलाम नगरपालिका – ९ का ३३ वर्षीय परशुराम दर्जी, सिराहाको सिराहा नगरपालिका – ७ का २३ वर्षीय राकेश कुमार यादव, उदयपुरको चौदण्डिगढी – ८ का ३२ वर्षीय भास्कर मगर, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ९ का २६ वर्षीय दीपेन्द्र केसी, गोरखाको अजुरकोट गाउँपालिका – ४ का २९ वर्षीय रूपक कोइराला र पर्वतको त्रिवेणी गाउँपालिका – २ का ३५ वर्षीय सुन्दर राणा पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्ट वाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेब पोर्टल मार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टे वाजी गराएको प्रहरीको दाबी छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।