वीरगन्ज | वीरगन्जको पम्पम बिल्डिङमा रहेको तुल्स्यान मार्केटको गोदामबाट राजश्व छलीको कूल २ करोड २० लाख रुपैयाँ मुल्यको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले तुल्स्यान मार्केटको दुई वटा गोदाममा छापा मारेर १ करोड २० लाख रुपैयाँ मुल्यका कपडा बरामद गरेको थियो ।त्यसपछि शुक्रबार र शनिबारपनि प्रहरीले अरु ४ वटा गोदाममा छापा मारेर थप १ करोड रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा पम्पम बिल्डिङका ६ वटा गोदाममा छापा मारेर राजश्व छलीको कूल २ करोड २० लाख रुपैयाँ मूल्यका कपडा बरामद गरेको उल्लेख छ । ६ वटा गोदामबाट भारतका विभिन्न ब्राण्डका सर्टीङ–सुर्टीङ, सुती र ढाकाको थान कपडा। साडी,कूर्था–सुरुवाल,धोती लगायतका करिब ३ ट्रक कपडा बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरीले छापा मारेका ६ मध्ये २ वटा गोदमको मात्र साहुको पहिचान खुलेको जनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का रामएकबाल कुशवाहा र वडा नम्बर १६ का आकाश कुमार गुप्ताको मात्र पहिचान खुलेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।अन्य ४ वटा गोदाम कसको हो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको उनले बताए ।
बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले जानकारी दिए ।