वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा आजबाट ९ दिने महायज्ञ शुरु भएको छ । हिजो जलयात्रा निकालेर आजबाट ९ दिने श्रीश्रीश्री १०८ श्री लक्ष्मीनारायण महायज्ञ एवं राधाकृष्णजीको प्राणप्रतिष्ठा शुरु भएको हो ।
हिजो निकालिएको जलयात्रामा त्यहाँका दलित समुदाय सहभागी भएनन् । उनीहरुले जलयात्रा बहिष्कार गरेका हुन् । यज्ञको पूजा वेदीमा २० जना गैरदलित मात्र बस्ने निर्णयको विरोधमा उनीहरूले हिजो भएको जलयात्रा बहिष्कार गरेका हुन् ।
छिपहरमाई गापा–१ मिर्जापुरमा ७० दलित घरपरिवार रहेका छन् । स्थानीय भागीरथ रामले आफु वेदीमा बस्न इच्छुक रहेको तर गैरदलितहरूको विरोधका कारण सहभागी नगराउने निर्णय भएकोमा आपत्ति जनाए ।
उनले वेदीमा बस्नका लागि महायज्ञ तयारीका क्रममा आश्वासन दिएको, वेदीमा बस्नका लागि पाँच हजार चन्दासमेत लिएको र दुई महीना अघिदेखि महायज्ञ तयारीको लागि दलित समुदायलाई चन्दा सङ्कलनमा सहभागी गराएकामा अन्तिम समयमा एक साता अघिदेखि महायज्ञको वेदीमा दलित सहभागिता नहुने भनेर विवाद गरिएको आरोप लगाए ।
महायज्ञ समितिका अध्यक्ष एवं वडाध्यक्ष रामेश्वरप्रसाद यादवले वेदीमा बस्ने २० जनाले दलित सहभागिता भएपछि नबस्ने भनेर अडान लिएका कारण दलित सहभागिता नगराउने निर्णय भएको बताए ।
स्थानीय वृन्दा रामले चन्दा लिने तर वेदीमा सहभागी नगराउने कार्य घोर आपत्तिजनक भएको र यसै कारण दलितहरू जलयात्रामा सहभागी नभएको बताए ।
आजबाट शुरु भएको महायज्ञ स्थानमा मनोरञ्जनका लागि रामलीला, झुला, मौतका कुवा र प्रवचनको व्यवस्था गरिएको छ ।