रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ का २५ वर्षीय युवा सुनिल राय यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित पाँच जना माथि मुद्दा दर्ता भएको छ। हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा कटहरिया ५ का आरोपी सबै एकै परिवारका पाँच जना माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको हो।
कटहरिया ५ का रामबाबु साह सोनार, उनको श्रीमती रम्भा देवी, छोरी कोसिला देवी, छोरा बदरी भन्ने ओमप्रकाश साह, भतिज सञ्जय साहमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर राजन उप्रेतीले बताएका छन्। आरोपी पाँचै जना प्रहरी हिरासतमा रही थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उप्रेतीले जानकारी दिएका छन्।
गत भदौ २९ गते बेलुका साढे सात बजे दुईपक्षिय झडपमा मदन यादवको २५ वर्षीय छोरा शुनिल राय यादवलाई छुरा हानेर हत्या गरिएको थियो। कटहरिया ५ खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको थियो। झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गर्दा अचेत भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका चिकित्सकले मृत घोषणा गरेका थिए।
लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया बाट त्यहाँ पुगेका प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा छुट्टाछुट्टै स्थान बाट रामबाबु सहित पाँचै जना लाई नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले हत्याको कारण व्यक्तिगत रिसिवी देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्।