वीरगंज । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्ने अन्तिम चरणमा पुगेको छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहको र नेपाली समय अनुसार बुधबार साँझ ६ बजेर १९ मिनेटमा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बीबीसीले ‘यदि चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी धु्रवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्ने छ,’ लेखेको छ । यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजि हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ ।
यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अवतरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ । अवतरणका लागि यानको गति प्रतिसेकेण्ड एकदेखि दुई मिटरमा सीमित गरिएको छ ।