वीरगंज । महोत्तरीमा खोलाले बगाएको तीन दिनपछि एकजनाको शव फेला परेको छ । मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको हो ।
बिहिबार अपरान्ह अंसारीको शव सोनमा –१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शव निकालेका थिए ।
बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर ल्याएको प्रहरी निरीक्षक यादवले बताए । मृतकका आफन्तले शवको सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको उनले बताए ।