वीरगंज । वीरगन्जबाट सीमावर्ती भारतीय शहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई भारतीय महावाणिज्य दूतावासबाट अब विशेष पास नलिनुपर्ने भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार भारत सरकारको निकायसंग पहल गरे पश्चात रक्सौल बजारमा नेपाली सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले बुधबार सीमावर्र्ती भारतीय शहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेर पास लिने नियम हटाउन छलफल गरेका थिए ।
छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगन्जबासीको सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिकसमेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए । त्यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र अव्यवहारिक देखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।
सांसद यादव र मेयर सिंहको आग्रहपछि भारतीय भन्सार विभागले नेपाली नम्बर प्लेट भएको चार चक्के गाडीलाई पास लिनुपर्ने मंगलबारदेखि लगाएको प्रावधान बुधबारदेखि नै हटाएको हो । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सन्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए । यसअघि मंगलबारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।