वीरगंज । अतिरिक्त कमाई हुने सबैभन्दा आकर्षक कार्यालय यातायात व्यावस्था कार्यालय वीरगन्जका कर्मचारीहरुको आर्थिक लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ । यातायात व्यावस्था चालक अनुमति पत्र कार्यालय वीरगन्जमा कर्मचारीहरुको घुस लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीहरुलाई भने समस्या भएको हो । कर्मचारीहरुबीच सेवाग्राहीबाट लिने घुस रकमको भागबण्डामा कुरा नमिल्दा बढेको विवाद अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेलबिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए । उनले पटेल र अर्का एक जना रुस्तम नामका व्यक्तिबिरुद्ध शान्ति सुरक्षाको माँग गर्दै उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि प्रहरीलाई पत्राचार गरेपछि पटेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ । सवारी चालक अनुमतीपत्र बितरणकालागि कार्यालयले असार ५ गते लिखित परिक्षा लिएको थियो ।
असार ६ र ७ गते ट्रायल परिक्षा लिएर रिजल्ट प्रकाशनको तयारी गरिएको थियोे । रन्जीत साह सरुवा भएर आएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वन्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क (आर्थिक नजराना) लिने सहमति उनकै अगुवाई भएको हो । इमान्दार साहको एकाएक त्रिनेत्र खुल्यो र अतिरिक्त रकम सेवाग्राहीसँग लिने योजना बन्यो । यस पटकको परिक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलित रकम जसले लियो उसैले राखेकोले बितरणमा समस्या भयो । परिक्षा प्रमुखको जिम्मेवारी लिनुभएकी बविता जयसवालले पैसा नपाएपछि यातायात भित्रको विवाद सतहमा आएको हो । बदनामी आफ्नो हुने तर केही नपाउने अवस्था आएपछि बविता जयसवालले फेरी ट्रायल परीक्षाको नतिजा एकदमै पारदर्शी गर्ने घोषणा गर्नुभयो । कार्यलय सम्वद्ध स्रोतका अनुसार कार्यालयले प्रवेश पत्र तथा पुन ट्रायलको शुल्क नगदीमा गर्ने गर्दछ ।
त्यसरी संकलन गरिएको रकम राजस्व अपचलन भएको र आर्थिक वर्षको अन्त्यमा त्यही खर्च मिलान गर्न खोज्दा करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहले विवाद गरेका थिए । उनीहरुले पहिलेको कमिशनको पैसा पनि नबाडिएको र अहिले पनि नवाड्ने प्रपञ्च गरेको भन्दै बिवाद गरेका थिए । यादव सहनी र साहले ट्रायल प्रमुख जयसवाललाई अभद्र ब्यवहार तथा दुर्वचन समेत प्रयोग गरेका थिए । जयसवालले यादव र सहनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । जयसवालको उजुरीको बिषयमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दीपक गिरीको कार्यकक्षमा हिजो भएको छलफलमा यादव र सहनीले आफनो कमजोरी स्वीकार गर्दै माफी मागेपछि यो कुरा मिलेको छ । साहले उजुरी दिएका पटेल भने प्रहरी हिरासतमै रहेका छन् । रञ्जित साहको दरबन्दी रौतहटको यातायात सेवा कार्यालयमा रहेपनि शक्ति र पहुँचका भरमा अतिरिक्त आम्दानी हुने कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् । संभाल : ट्रिब्युन न्युज