वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नमा ढिलाई गर्न नहुने बताएका छन् । अहिले गौर हत्याकाण्डका नाईकेलाई जोगाउँनका लागि प्रतिक्रियाबादीहरु सक्रिय भएर लागेको उनले बताए । रौतहटको मौलापुरमा निर्माण भएको पार्क होटलको दोस्रो खण्डको आज उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले रौतहटको कलंकको रुपमा राजपुर बमकाण्ड र गौर हत्याकाण्ड रहेको बताए । राजपुर बमकाण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको उनले बताए ।
हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले आपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउनुपर्ने बताए । घटनाको छानबिनका लागि गठन गरिएको आयोग समेतले आपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहको भनाइ थियो । ‘दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा राजपुर बमकाण्ड र अर्को गौर हत्याकाण्ड । राजपुर बमकाण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ’ आजपा अध्यक्ष साहले भने, ‘यहाँ जाहेरी दर्ता भएको छ, तत्कालिन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ ।
’घटनाको १६ वर्ष बिति सक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाईलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उनले बताए । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् । सोही कार्यक्रमका बीच मौलापुर नगरपालिकाले किसानहरुलाई कृषि समाग्री समेत वितरण गरेको छ । माछा ब्यवसायीहरु तथा तीन बालि खेति गर्ने किसान एवं तरकारी खेती गर्ने किसानहरुलाई नगरपालिकाद्वारा निःशुल्क विभिन्न कृषि सामग्री बितरण गरिएको हो ।