वीरगंज । भुक्तानीको माग गर्दै रौतहटस्थित निर्माण व्यवसायी संघ आवद्ध व्यवसायीहरूले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । गत आर्थिक वर्षमा सम्पन्न भइसकेको योजनाको करोडौँ रुपैयाँको भुक्तानी नगरेको भन्दै आइतबारदेखि डिभिजन सडक कार्यालय रौतहट चन्द्रनिगाहपुरविरुद्ध उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
पहिलो दिन आइतबार व्यवसायीहरू डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा तालाबन्दी गरी धर्ना सुरु गरेका थिए। लिनुपर्ने करोडौँको भुक्तानी आर्थिक वर्षको अन्तिम दिनसम्म पनि नहुँदा संघका अध्यक्ष कृष्णदेव यादवको नेतृत्वमा गएका व्यवसायीहरूले आइतबार डिभिजन कार्यालयको मूल गेटमा तालाबन्दी गरेका थिए।
संघका अध्यक्ष इन्जिनियर यादवका अनुसार डिभिजन सडक कार्यालय रौतहट मातहत निर्माणको काम गरेका साना ठुला गरी ४० भन्दा बढी व्यवसायीको २६ करोड भन्दा बढी भुक्तानी लिनुपर्ने बक्यौता रहेको छ। डिभिजन प्रमुख दारोगा साहले यस आर्थिक वर्षभित्र जसरी पनि भुक्तानी हुन्छ भन्दै आश्वासन मात्र दिएको उनको आरोप छ । सोमबार पनि व्यवसायीहरू बिहानैदेखि डिभिजन कार्यालय अगाडी धर्नामा बसेका छन् ।