ओखलढुंगा । सुतेकै ठाउँमा एक युवा मृत फेला परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–१० बाँसबारी चोकमा अन्दाजी २२ वर्षीय युवा युवराज धमला आज (शुक्रबार) बिहान सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुशार गएराती झन्डै साढे ९ बजेतिर आफन्तको बिहे भोजबाट फर्किएर उनी आफ्नै कोठामा सुत्न गएका थिए । उनी सुत्ने कोठामै उनका केहि आफन्त (पाहुना) पनि सुतेका थिए ।
बिहानै उठेर फर्किन लागेका आफन्तले आफूहरु फर्किने जानकारी गराउन उनलाई बोलाउँदा नबोलेपछि परिवारका अन्य सदस्य र आफन्तले आएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्लाबाट खटिएको प्रहरीले टोलीले घटना स्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान गर्दा घटना शंकास्पद नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको भएपनि मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्ने उनले बताए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।