वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकालाई अटेरी गर्दै ठेकेदारहरुले उपमहानगरपालिकालाई बुझाउनुपर्ने करोडौँ रुपैयाँ अहिलेसम्म बुझाएका छैनन् ।उपमहानगरपालिकाको ठेक्का सकारेका ठेकेदारहरुले उपमहानगरपालिकालाई बुझाउनुपर्ने ८ करोड २० लाख ५१ हजार ९ सय ५५ रुपैयाँ अहिलेसम्म नबुझाएको राजश्व शाखा प्रमुख राम शर्माले जानकारी दिए । उपमहानगरपालिकाले पटक पटक बक्यौता रकम बुझाउन ठेकेदार कम्पनीहरुलाई परिपत्र गरे पनि उनीहरु अटेरी गरिबसेका छन् । २०७७ साल जेठ मसान्त सम्मका लागि नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री गर्ने ठेक्का सकारेका न्यू पाथिभरा सप्लायर्स हेटौडाले १ करोड २० लाख २८ हजार ९० रुपैयाँ श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमराले १ करोड २७ लाख ३० हजार २ सय २१ रुपैयाँ ओम सप्लायर्स कलैयाले ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ २०७८ साल जेठ मसान्तसम्मका लागि ठेक्का सकारेका बिनोद साह निर्माण सेवा कलैयाले ३ करोड १२ लाख रुपैयाँ उपमहानगरपालिकालाई अहिलेसम्म बुझाएका छैनन् ।
त्यस्तै,२०७७ असारसम्मका लागि सडक उपयोग शुल्क उठाउन ठेक्का सकारेका न्यू गुप्ता सप्लायर्सले २१ लाख २५ हजार , कबाडी करको ठेक्का सकारेका सिमरा कन्स्ट्रक्सनले १ करोड २१ लाख ५३ हजार ६ सय ९३ रुपैयाँ , पाडा भैसी बजारको ठेक्का सकारेका जीतेन्द्र प्रसाद यादबले १५ लाख रुपैयाँ र विज्ञापन करको ठेक्का सकारेका रुटस एड्भटाईजिङ कलैयाले ३ लाख १४ हजार ९ सय ५२ रुपैयाँ उपमहानगरपालिकालाई बुझाउनुपर्ने रकम नबुझाएर अटेरी गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । विनोद साह निर्माण सेवा र सिमरा कन्स्ट्रक्सनले कोभिड संक्रमणको कारण आफूहरुलाई घाटा भएको कारण बताउँदै जिल्ला अदालत बारामा बक्यौता रकम मिनाहाको माग राख्दै मुद्दा दायर गरेका छन् ।
पाडा भैसी बजारको ठेक्का सकारेका जीतेन्द्र यादव र विज्ञापन कर उठाउन ठेक्का सकारेका रुट्स एड्भटाईजिङ कलैयाको पहिलाको ठेगाना परिवर्तन भएको कारण बताउँदैँ पठाइएको चिठी फिर्ता हुने गरेको छ । न्यू पाथिभारा सप्लायर्स हेटौडा ,श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमरा र ओम सप्लायर्स कलैयाको गलत बिल जारी गरेको भन्दै अख्तियार अनुसन्धान कार्यालय हेटौडा र राजश्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान गरिहेको छ । नदीजन्य पदार्थहरु संकलन तथा बिक्री ठेक्कामा ठेकेदारसँग मिलेमतो गरेको , ठेकेदारले पैसा नतिर्दा जफत गर्नुपर्ने बैक ग्यारेन्टी रकम जफत गरी असुल नगरेको लगायतको कारण देखाउँदै जीतपुरसिमरा उपमहानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइ निलम्बनमा परेका छन् ।