वीरगंज । आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा १० महिने शिशुदेखि ६७ वर्षकी वृद्धासम्म परे । लामो समय उडान अनुभव बटुलेका सिनियर पाइलटदेखि भर्खरै करिअर सुरु गरेका एयर होस्टेजसम्म, कलाकारदेखि पत्रकारसम्म अनि चिकित्सकदेखि निजामती सेवाका कर्मचारीसम्मले दुर्घटनामा ज्यान गुमाउन पुगे । तिनै ज्यान गुमाउनेमध्ये तीनजना थिए, नेपाली चिकित्सा क्षेत्रका उज्जवल नक्षत्रको रुपमा उदाएका चिकित्सकहरु । विगत नौ वर्षदेखि सरकारी स्वास्थ्यमा रहेका अर्थोपेडिक सर्जन डा. शुशील श्रेष्ठ, विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी डा. सोना दिवाकर र पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा. गणेश थापा ।
विगत तीन वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. शुशील स्पाइन सर्जरीसम्बन्धी फेलोसिप गर्न एक महिनाभित्र सिंगापुर जाने तयारीमा थिए । सेन्टरका अनुसार उनलाई सिंगापुर जनरल हस्पिटलले उनलाई एक वर्षे फेलोसिप प्रदान गरेको थियो । श्रीमती डा. सोनाले चितवन मेडिकल कलेजबाट एमबीबीएस सकेर विशेषज्ञ चिकित्सकको पढाइका लागि तयारी गरिरहेकी थिइन् । तर, डा. शुशीलको स्पाइनल सर्जन बन्ने अनि डा. सोनाको विशेषज्ञ चिकित्सक बन्ने सपना अधुरो मात्रै रहेन, सदाका लागि आकाशमै विलीन भयो । १० महिने छोरासहित स्थायी घर पोखरा जाँदै गरेका उनीहरु तीनैजना आइतबारको दुर्घटनामा ज्यान गुमाउन पुगे । यता पोखराको ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा. गणेश थापाले पनि सोही दुर्घटनामा ज्यान गुमाउन पुगे ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत लामो अनुभव बटुलेका डा. गणेशको आइतबार बिहान नै अन्तिम भेट र बिदाइ पनि हुनपुग्यो परिवारसँग । यसरी फेरि एकपटक नेपालको चिकित्सा क्षेत्रले तीनवटा उज्ज्वल नक्षत्र गुमाउन पुग्यो । “यसले चिकित्सा क्षेत्रलाई मात्रै होइन, राज्यलाई नै ठूलो क्षति पुगेको छ । एउटा विशेषज्ञ चिकित्सक तयार पार्न अर्षौँ मेहनत गर्नुपर्छ, करोड लगानी गर्नुपर्छ । अहिले तीन, तीनजना चिकित्सक गुमाउँदा नेपाली चिकित्सा क्षेत्रलाई अतुलनीय क्षति पुगेको छ,” नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, “विमान दुर्घनामा एउटामात्रै कारण हुँदैन, सम्भावित सबै कारणको खोजी गर्नुपर्यो । विमान र विमान चालक दुवै स्वस्थ हुनपर्यो, तबमात्रै सम्भावन छ सुरक्षित उडान ।